भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले वडा-९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिँदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु. २० करोड विनियोजन भएको बताए । तत्काल काम थालिने जानकारी पनि उनले दिए ।
नगरप्रमुख श्रेष्ठले भने, “आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछौँ । त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमांकन गर्नेछौँ ।”
नगरपालिकाले उक्त परियोजनाबारे मंगलवार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो । त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो । पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।