नुवाकोट : नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा गत आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड ४४ लाख ८० हजार भेटी संकलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सो आम्दानीबाटै रु. ३२ लाख २१ हजार खर्च गरिएको छ ।
कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने प्रबन्ध गाउँपालिकाले मिलाएको छ ।
गत साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिर दर्शन गरेका छन् । सोही अवधिमा रु. ३१ लाख ८३ हजार बराबरको भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
पौराणिक कथन अनुसार ४०० वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएकाले उक्त ठाउँको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्न थालिएको थियो ।
‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान्’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । यहाँ देशका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्छन् । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तान प्राप्त हुने जनविश्वास छ ।
बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा (नब्याएका) गाई भैँसीको दाम्लो चढाएमा ब्याउने विश्वास गरिन्छ । “धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहोर्याएर दर्शन गर्न आउने गरेका छन्”, पुजारी धितालले भने ।