काठमाडौं : यही भदौ ७ गते शनिबार टोखा नगरपालिकाको तिलिङ्गाटार माविको प्राङ्गणमा बाल्यकालको झल्को दिने ‘उबेलाको तीज’ शीर्षकमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
टोखा नगरपालिकाको आयोजनामा हुने उक्त तीज कार्यक्रमको व्यवस्थापन स्वीकृति इभेण्टले गर्ने भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले विशेषगरी जेष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएपनि सबै उमेर समूहका नगरवासीहरूको उपस्थिति रहने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले सामाजिक र सांस्कृतिक रूपमा संस्कृतिलाई संरक्षण गर्दै आएका वरिष्ठ कलाकारहरूको पनि उपस्थिति रहने जानकारी दिए ।
कार्यक्रमको व्यवस्थापन गरिरहेका स्वीकृति इभेण्टका प्रमुख तथा लोकप्रिय गायक नबिन पौडेलका अनुसार टोखाका दिदीबहिनीहरूको प्रतिभालाई प्राथमिकतामा राखिएको छ ।
नगर उपप्रमुख मुरारी तामाङले कार्यक्रममा करिब तीन हजार जनाको उपस्थिति रहने अनुमान गरिएको बताए । सो अवसरमा उपस्थित सबैलाई तिजको दर पनि खुवाइने वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले जानकारी दिए ।
कार्यक्रममा विगतदेखि सांगीतिक क्षेत्रमा ख्याति कमाएका कलाकार प्रेमराजा महत, राम प्रसाद खनाल, शिव नारायण जोशी, चन्द्रकला शाहा, अमर बिरही गुरुङ, प्रजापति पराजुली, नारायण रायमाझी, हरिदेवी कोइराला, शान्ति गुरुङ, पुरुषोत्तम न्यौपाने, बालुमाया पुन, दुर्गा रायमाझी, नारायण लेकाली, इन्द्र जिसी, खड्क बुढा, लिलावती बुढा, शिबु गिरि लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । यससँगै पछिल्लो पुस्ताका कलाकार लक्ष्मी न्यौपाने, कृष्ण कडेल, रेशम सापकोटा, शान्ता न्यौपाने, सीता थापा लगायत टोखाका स्थानीय प्रतिभाहरूले समेत प्रस्तुति दिनेछन् ।
कार्यक्रममा लोपोन्मुख अवस्थामा पुगेको भजन संस्कृतिको पनि विशेष प्रदर्शन गरिनेछ ।
संस्कृतिमा देखिएको भाषिक, शाब्दिक तथा दृश्यात्मक विकृति न्यूनीकरणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।
हरितालिका तिज पर्वमा गाइने गीत, प्रयोग हुने भेषभूषा र वास्तविक सांस्कृतिक झल्को प्रस्तुत गर्दै टोखाबाट मौलिक संस्कृतिको संरक्षण गर्न खोजिएको संयोजक नबिन पौडेलले बताए । साथै सो अवसरमा कला, साहित्य, पत्रकारिता तथा समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिने जानकारी दिइएको छ ।