२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

भुम्लु गाउँपालिकामा ५० वर्षपछि लालपुर्जा वितरण

shivam cement
दिनेशराज खरेल
२०८२ भदौ ६ गते २०:४०
भुम्लु गाउँपालिकामा ५० वर्षपछि लालपुर्जा वितरण

काभ्रेपलाञ्चोक : काभ्रेको भुम्लु गाउँपालिकाका नागरिकले ५० वर्षपछि   जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) पाएका छन् । लामो समयदेखि प्रतीक्षा गरेका स्थानीय स्थायी स्वामित्वको लालपुर्जा हातमा पाउँदा खुसी भएका छन् । 

साविक फलाँटे र भुम्लुटार गा.वि.स. (हाल वडा नं. ७ र ८) मा २०३२÷३३ सालमा नापी सकिएपनि तत्कालीन सीमाना विवादका कारण धनीपूर्जा वितरण हुन सकेको थिएन । करिब पाँच दशकपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रमाण पूर्जा वितरण गरे । 

२०७१ साल जेठ २५ गते नापी नक्सा तयार गर्ने कार्य पुनः सुरु भएयता विभिन्न समितिहरू गठन भइ समस्या समाधानतर्फ अघि बढाइएको थियो । मन्त्रालयको निर्णयअनुसार तत्कालीन उपसचिव अनिल मरासिनीको संयोजकत्वमा बनेको समितिले समस्या पहिचान गर्दै प्रतिवेदन पेश गरेको थियो । त्यस्तै २०८० माघ २ गतेदेखि नापी अधिकृत जयराम तामाङको नेतृत्वमा कार्यदल खटिएको थियो । अन्ततः लामो प्रक्रियापछि धनीपूर्जा वितरणको वातावरण बनेको हो । 

गाउँपालिकाले सूचनाप्रसार, निवेदन संकलन, सर्भेयर नियुक्ति, आवास–खाना र यातायात व्यवस्थापन, विवाद समाधान जस्ता कार्य गर्दै नापी कार्यालयलाई सहयोग पुर्‍याएको थियो । पालिकाका अध्यक्ष प्रेम बहादुर भूजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले चुनावी एजेण्डाअनुसार बाचा पूरा गर्न सकेकोमा खुशी व्यक्त गर्दै नागरिकको मुस्काननै जनप्रतिनिधिको सन्तुष्टि भएको बताए ।

नापी कार्यालय प्रमुख अशोक कुमार भूषालका अनुसार २०३२/३३ को तथ्यांकअनुसार ६५५१ कित्ता रहेकोमा हालसम्म वडा नं. ७ मा २७९५ फिल्ड भेरिफिकेसन, २४ नियन्त्रण बिन्दु, २७.१३ कि.मी. सडक डिटेल सर्भे पूरा भएको छ । यस वडामा ६२७ कित्ता दर्ता, ४०३ लगत भिडाइएको, १८५ पुर्जा वितरण भइसकेको छ । वडा नं. ८ मा २०४० फिल्ड भेरिफिकेसन, २२ कि.मी. सडक डिटेल सर्भे, ७०४ कित्ता दर्ता भइ २४६ लालपुर्जा वितरण भएको तथ्यांक छ ।

निवेदकले दाबी गरेको लगत र फिल्डबुकमा नमिल्ने, पुराना रेकर्ड बेग्लै देखिने, सर्भेयरको अनुभव अभाव, विवादित कित्तामा दवाव सिर्जना जस्ता समस्याले काममा कठिनाइ ल्याएको कर्मचारीहरूले बताएका छन् । यद्यपि ५० वर्षपछि लालपुर्जा वितरण सम्भव हुनुमा नापी अधिकृतदेखि प्राविधिक कर्मचारीसम्मको सक्रियता निर्णायक भएको प्रमुख भूषालले बताए ।

लाभग्राही तोरणबहादुर क्षेत्रीले अबका पुस्ताले बैंकबाट ऋण लिएर व्यापार–व्यवसाय गर्न सहज हुने बताए । गोपीकृष्ण उप्रेतीले आपसी विवादका कारण पुस्तौंसम्म सास्ती खेपिएको उल्लेख गर्दै अब स्थायी धनी भएकोमा खुशी व्यक्त गरे । यस्तै नारायण प्रसाद खरेलले लालपुर्जा पाउँदा सपना जस्तै लागेको अनुभव सुनाउँदै युवा जनप्रतिनिधिको खुलेर प्रशंसा गरे ।

ADV

सम्बन्धित खबर

Advertise