इटहरी : इटहरीमा नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आइआइसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ । भदौ ४ गतेदेखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा सञ्चालन भएको महोत्सवमा देशभरका १६ वटा कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए ।
महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गर्दै विद्यार्थीलाई शैक्षिक ज्ञानलाई व्यवहारिक जगतसँग जोड्ने अवसर दिएको आयोजकले जनाएको छ ।
‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले वास्तविक समस्यामा आधारित समाधान प्रस्तुत गरेका थिए, जसले निर्णायक, उद्योग विज्ञ र दर्शकलाई प्रभावित पारेको थियो ।
प्रतिस्पर्धाको अन्तिम दिन उत्कट प्रस्तुतिपछि विराटनगर इन्टरनेशनल कलेज विजेता बनेको छ । एसीइ इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज काठमाडौं दोस्रो रनरअप बनेको छ ।
विजेताहरुलाई कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, कार्यक्रम लिडर अच्युतराज भट्टराई तथा पदाधिकारीहरूले नगद पुरस्कार र ट्रफी प्रदान गरेका थिए । समूहगत तथा व्यक्तिगत प्रस्तुतीमार्फत आएका मौलिक विचारहरूले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।