काठमाडौँ : नेपाल नेत्र ज्योति संघ (एनएनजेएस) र धुलिखेल अस्पताल-काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच-केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ । सोहीअनुरूप काठमाडौँ विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदान-प्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।
नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रताअनुसार दुई संस्थाकाबीच संयुक्त अनुसन्धान र सह प्रकाशनसमेत हुने छ ।
अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्र ज्योति संघले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।