सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।
खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।
उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । “सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सक्ने अवस्था छैन । भिरालो भू-भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ”, उनले बताए ।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।
गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यस पटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुंगो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।