कास्कीः कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा आज उक्त माइक्रोबस दुर्घटना भएको हो ।
आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएको हो । घाइतेको अवस्था सामान्य रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पोखरा–१३ की ५५ वर्षीया जमुना बराल र ५२ वर्षीया कोपिला बराललाई बढी चोट लागेको प्रहरीले जनाएको छ ।