२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

केम्प्टन पार्क, युकेमा १६औं नेपाली मेला सम्पन्न

shivam cement
सनिषा श्रेष्ठ
२०८२ भदौ ९ गते १८:००
केम्प्टन पार्क, युकेमा १६औं नेपाली मेला सम्पन्न

लन्डन : बेलायतको केम्प्टन पार्क रेसकोर्समा नेपाली समुदायको भव्य उत्सवका रूपमा रहेको ‘१६औं नेपाली मेला युके–२०२५’ आइतबार सम्पन्न भएको छ । तमुधिं एसोसिएसन अफ युकेको आयोजना तथा बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको यस मेलाले प्रवासी नेपालीबीचको आपसी एकता, संस्कृतिको संरक्षण र नेपाली उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिएको थियो ।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको मेलाको उद्घाटन विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।  उपाध्यक्ष तथा प्रमुख संयोजक कमल गुरुङले सम्पूर्ण कार्यक्रमलाई संयोजन गरेका थिए ।

यस वर्ष मेलामा करिब १५ हजार दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरूको भिड, उत्साह र विविधताले नेपाली मेला युकेलाई बेलायतमा आयोजना हुने नेपाली समुदायको सबैभन्दा ठुलो सांस्कृतिक जमघटका रूपमा पुनः स्थापित गरेको आयोजकको भनाइ छ ।

मेलामा नेपाल र नेपालीसँग प्रत्यक्ष सम्बन्धित व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेषगरी नेपाली खाना, हस्तकला, घरेलु उत्पादन, खाद्य सामग्री, मेड ईन नेपाललगायत  दर्जनौं स्टलहरू राखिएका थिए । यस्ता स्टलहरूले प्रवासी नेपाली मात्र होइन, बेलायती तथा अन्य विदेशी नागरिकलाई समेत नेपालको स्वाद र संस्कृतिसँग नजिक्याउने काम गरेको आयोजकहरूको दाबी छ ।

सांस्कृतिक प्रस्तुति मेलाको अर्को आकर्षण रह्यो । विभिन्न संघसंस्थाका समूहहरूले आ–आफ्नो पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरे भने परम्परागत तथा आधुनिक नृत्यहरू प्रस्तुत गरेर वातावरणलाई झनै रंगिन बनाए । मेलाभर दर्शकहरूको उपस्थिति र सहभागीहरूको जोश उत्साहले नेपाली संस्कृतिप्रतिको आकर्षण अझै बलियो बनाएको देखियो ।

तमु धिं युकेले नेपालकै समृद्ध संस्कृतिलाई जोगाउन, प्रवासी पुस्तामा हस्तान्तरण गर्न र नेपाली समुदायलाई विश्वभर चिनाउन निरन्तर कार्यक्रम गर्दै आएको उल्लेख गर्दै यस वर्षको मेलाले पनि त्यो उद्देश्यलाई सफलतापूर्वक पूरा गरेको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रमको समापनमा संयोजक कमल गुरुङ र अध्यक्ष गुरुङले मेलामा झाँकी तथा सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबै संघ–संस्था, कलाकार, व्यवसायी र उपस्थित दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै आगामी वर्ष अझ भव्य रूपमा नेपाली मेला युके आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए ।


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise