दोहा, कतार : कतारमा सौन्दर्य व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाएको हर्मोषा ब्युटी सेन्टरले तिज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरूको बाक्लो उपस्थितिबीच आइतबार साँझ अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर तेस्रो पटक तिज विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले सांगीतिक प्रस्तुति दिएका थिए । परियारले 'भुल परे दाइ म त', 'ओइ बाटुली'सहित केही आफ्ना चर्चित गीत गाइन् भने पुनले 'माइतीको देश', 'कर्मैले घुमायो'लगायतका तिजका गीतहरू गाएकी थिइन् । संगीतमय माहोलमा दर खुवाउँदै सम्पन्न कार्यक्रममा कतारमा रहेका गायिकाहरू क्रमशः रेश्मी सेन्चुरी, सरला तामाङ र सुमित्रा भट्टराईले आफ्नो गायिकीमार्फत उपस्थितलाई नचाएका थिए । त्यस्तै सुधा परियार र निरु श्रेष्ठले आफ्नो नृत्य पेस गरिन् भने सलिना सिंह ठकुरीले स्वागत नृत्य पेस गरेकी थिइन् । गायिकाद्वय पुन र परियारले ‘तिजको लहर आयो बरिलै’ गीत गाउँदै सांगीतिक प्रस्तुतिको बिट मारेका थिए ।
नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यता तथा हर्मोषाकी सञ्चालिका तथा कार्यक्रम संयोजक प्रभा श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पार्लरका सञ्चालक राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले हर्मोषाले प्रवासमा रहेर पनि नारीहरूको महान् पर्व मनाउन गरेको प्रयासको सराहना गरिन् ।
सञ्चारकर्मी सन्ध्या अर्यालले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रेष्ठले कार्यक्रमलाई सभ्य तथा भव्य बनाउन साथ दिने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै तिजको शुभकामना ज्ञापन गरिन् । कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकार, फोटोग्राफर, प्रमुख अतिथिसहित कार्यक्रम सहजीकरणकर्तालाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।