काठमाडौं: यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्।
आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० वटा नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियम अनुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।
आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ। कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ। धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ।
रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ।
गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए। ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो।
सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी
मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ। कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए। कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यवसायिक कारोबार प्रभावित बनेका थिए।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए। सवारी साधन आवतजावतले दुई देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।
स्रोत नखुलेको रकमसहित तीन पक्राउ
भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो।
पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ। उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ। साथै उनीहरु सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies