काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् ।
सोमबार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए ।
उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताए । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताए ।
उनले भने, ‘मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन । साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य छ । नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो हो । संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै हो ।’
राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्व ठूलो हुने बताए । नेपालको शान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको बताए । यसको विकास र उत्थान गर्नु नेपालीहरुको साझा दायित्व रहेको बताए ।