२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक सम्पन्न, नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ १६ गते १८:०४
लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक सम्पन्न, नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर

लुम्बिनी : लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक स्याङ्जाको गल्याङ नगरपालिका-१, मालुङ्गामा सोमबार सम्पन्न भएको छ । 

बैठकले दुवै प्रदेशको साझा विकास र समृद्धिका लागि नौबुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बैठकले दुवै प्रदेशबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै संविधानले प्रदान गरेको अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको छ । मुख्यमन्त्री आचार्यले केही निर्णयहरू कार्यान्वयनको चरणमा रहेको र संघीय सरकारसँग समन्वय गरी बाँकी अधिकार प्रत्यायोजनका लागि पहल भइरहेको बताए । यस्तै, मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारलगायतका समस्याको समाधानमा ध्यानाकर्षण गराउने योजना रहेको उल्लेख गरे ।

गत माघ ३० गते पाल्पाको रानीमहलमा भएको पहिलो बैठकका २१ बुँदे प्रतिबद्धताको समीक्षा गर्दै तीन महिनाभित्र कार्ययोजना तयार गर्ने निर्णय भएको छ । बैठकले दामोदरकुण्ड-कृष्णागण्डकी ‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने, कालीगण्डकी तटीय क्षेत्रको समृद्धिका लागि पुस मसान्तभित्र कार्ययोजना पेस गर्ने र कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन सहजीकरण गर्ने निर्णय गरेको छ ।

यसबाहेक, सिकाइ आदान-प्रदानका लागि प्रमुख सचिवस्तरीय संयन्त्र गठन, कानूनी र नीतिगत एकरूपता कायम गर्ने, र दुवै प्रदेशका तीर्थस्थल र पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशको यो संयुक्त पहलले दुवै प्रदेशको आर्थिक, पर्यटकीय र धार्मिक समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सहमति कार्यान्वयनले प्रदेशहरूको विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिएको छ ।

बैठकले गरेका निर्यणहरु :

१. मिति २०८१/१०/३० गते बुधवार, रानीमहल पाल्पामा सम्पन्न लुम्बिनी र गण्डकी प्रदेश मुख्यमन्त्रीस्तरीय पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयन गर्ने । यसलाई थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिना भित्र कार्ययोजना बनाई पेस गर्न निर्देशन दिने ।
२. सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिबद्धताको विवरण तयार गर्ने र बाँकी विषयलाई प्राथमिकता दिई कार्यान्वयनको व्यवस्था मिलाउन प्रदेश मातहतका निकायलाई निर्देशन दिने तथा नेपाल सरकारसँग नियमित समन्वय गर्ने कार्य प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले गर्ने ।
३. दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने दामोदरकुण्ड कृष्णागण्डकी उत्तरवाहिनी-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने ।
४. दुबै प्रदेशका जावधिक योजनामा प्रदेश समुन्नतिका लागि प्रस्तावित रुपान्तरणकारी कार्यक्रम तथा आयोजना (अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यकम) कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने ।
५. कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुबै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यकम पहिचान गरी आगामी पुस मसान्त भित्र दुवै प्रदेश सरकारमा पेस गर्ने ।
६. यही आश्विन २१ देखि कार्तिक १९ गते सम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने । स्थानीय स्तरमा सहजीकरणका लागि आ-आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अनुरोध गर्ने ।
७. विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्काका सिकाइ तथा असल अभ्यासहरुको अनुभव आदान प्रदान गर्न प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने ।
८. प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी यथासम्भव कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise