२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

दुई तिहाइको सरकार, संसदमा पुग्दैन गणपूरक

shivam cement
मुकुन्द लामिछाने
२०८२ भदौ १९ गते ०६:३०
दुई तिहाइको सरकार, संसदमा पुग्दैन गणपूरक

काठमाडौं : बुधबार प्रतिनिधि सभाबाट नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो । 

सभामुख देवराज घिमिरेले समय दिएपछि सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘यसमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । संसदमा उपस्थित सांसदहरूले धारणा राखे । त्यसपछि सभामुख घिमिरेले नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे ।

त्यसक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले पशु चिकित्सा व्यवसायलाई परिभाषित गर्दै पशु चिकित्सक र निज अध्ययन गर्ने शैक्षिक संस्थाको नियमनलाई थप स्पष्ट पार्न खोजिएको जानकारी दिएका थिए ।  

यो ऐनले पशुपालन वा पशु विज्ञान अध्ययन गरेका पशु चिकित्सकबाहेकका अन्य प्राविधिक वा विशेषज्ञ जनशक्तिलाई नियमन नगर्ने बताउँदै मन्त्री अधिकारीले पशुपालक किसानले गुणस्तरीय सेवा उपभोगको संवैधानिक हकलाई सुनिश्चित गर्न खोजिएको बताए । 

उनले पशुको निरोगिता प्रमाणपत्र, मानव स्वास्थ्यलाई असर पर्ने काम यस विधेयकले नियन्त्रण गर्ने उल्लेख गरे ।

तर उनको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन लागेलगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे । सभामुखले ३ मिनेट घण्टी बजाए । सभामा सांसद गन्न ३ मिनेट घण्टी बजाउने गरिन्छ । ताकि सभाकक्षबाहिर रहेका सांसद सभाकक्षमा प्रवेश गर्न सकून् । 

सभामुखले ३ मिनेट घण्टी बजाएर गन्दा सभामा जम्मा ४९ जना भेटिए । जबकि प्रतिनिधि सभामा सांसद संख्या २ सय ७५ छ । यसमध्ये सत्तापक्षमा रहेका दलका सांसदहरूको संख्या १ सय ९२ छ । तर विधेयक अगाडि बढाउन खोज्दा संसदमा जम्मा ४९ जना सांसद भेटिएका हुन् । 

गत वर्ष प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदासमेत प्रतिनिधि सभामा रहेका १ सय ८८ जना सांसदले मत दिएका थिए । यो दुई तिहाइ बढी मत हो । त्यही सरकारले ल्याएको विधेयक पास गर्न खोज्दा संसदमा ४९ जना मात्रै देखिने दृश्यले सत्तारूढ दलहरूको प्राथमिकता र सांसदहरूको जिम्मेवारीप्रति लगावमा प्रश्न उठाएको छ । 

कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्था नेपालको संविधानको धारा ९४ मा छ ।

‘संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन’ संविधानको धारा ९४ मा
भनिएको छ । 

यस व्यवस्थाअनुसार पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । सभामुखले निर्णय सुनाए, ‘गणपूरक संख्या यकिन गर्दा यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ४९ रहेकाले गणपूरक संख्या नपुग भएको देखिएकाले आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु ।’

बुधबार गणपूरक संख्या पुगेको भए प्रतिनिधिसभाबाट नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन्थ्यो । त्यसपछि सांसदहरूले यो विधेयकमा संशोधन राख्ने ७२ घण्टे समयाअवधि सुरु हुन्थ्यो । गणपूरक संख्या नपुगेपछि सभामुखले प्रतिनिधि सभाको बैठक नै स्थगित गरिदिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise