काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण रोक्न उपत्यका प्रहरी कार्यालयले ‘शान्त, तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रहरीले बिहान र राति अनावश्यक आवाज नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकल वा अन्य सवारीसाधनको हर्न, ठुलो स्वरमा गफगाफ, अबेर रातिसम्म संगीत बजाउनेजस्ता गतिविधिले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र मुटुरोगीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ । ध्वनि प्रदूषणका कारण सामाजिक सम्बन्ध, नैतिक मूल्य र आर्थिक क्रियाकलाप समेत प्रभावित भएको भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको छ ।
रातिको समयमा फोन कल गर्दा हेडफोन प्रयोग गर्न, म्यासेजमार्फत संवाद गर्न, ठुलो स्वरमा गफ नगर्न, भाँडाकुँडाले ठुलो आवाज ननिकाल्न, गेट ढकढक्याउन वा बेल बजाउनबाट जोगिन भनिएको छ । अबेरसम्म ठुलो स्वरमा संगीत बजाउने वा नाचगान गर्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
बिहान अनावश्यक रूपमा ठुलो आवाजमा कुरा नगर्न, खोक्दा–खकार्दा आवाज कम गर्न, गेट खोल्दा वा सवारी साधन स्टार्ट गर्दा ध्वनि नियन्त्रण गर्न प्रहरीको आग्रह छ ।
त्यस्तै, अबेर राति शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन तथा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन समेत प्रहरीले आग्रह गरेको छ ।
ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी प्रहरीले दिएको छ ।