काठमाडौंः पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।
सिचुवान एयरलाइन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उनले बताए ।
पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अवस्था बन्नु खुशीको कुरा भएको उनले बताए । सिचुवान एयरलाइन्सले केही समय अगाडी पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारण देखाएर सिचुवान एयरलाइन्सले हाल उडान स्थगित गरेको छ ।
उनले भने, ‘केही समय अगाडी सिचुवान एयर्सले पोखरा छेन्दु, छेन्दु पोखराको उडान गरेको थियो । र उसको प्राविधिक कारणले केही समय स्थगित गरेको छ । आउने अक्टोबरदेखि सिचुवान एयरलाइन्सले फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी गरिरहेको अवस्था छ । उसले पोखराबाट छेन्दु र छेन्दुबाट अष्ट्रेलियासम्ममा जोड्ने तयारी गरिरहेको छ । त्यसबाट नेपाली यात्रुहरुलाई धेरै सहज हुनेछ । उनीहरुले पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अबस्था एउटा चाँही नयाँ खुशीको कुरो हामीसँग आउँदैछ ।’
हाल पोखरा विमानस्थलबाट नियमित रुपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एउटा उडान गरिरहेको छ ।
भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने
महानिर्देशक निरौलाले भूटान एयरलाइन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने बताए ।.उनले भूटान एयरलाइन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्ने अनुमति पाएको जानकारी दिए । उनकाअनुसार सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा भूटान एयरलाइन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ । चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा संचालन गर्नेगरि भूटान एयरलाइन्सले तयारी गरिरहेको महानिर्देशक निरौलाले जानकारी दिए ।
उनले भने, ‘भूटान एयरलाइन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्नेगरी अनुमति पाइसकेको अवस्था छ । त्यसपछि उसले चार्टर्डको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा सञ्चालन गर्नेगरी तयारी गरिरहेको अवस्था छ । भूटान एयरलाइन्सले पारो पोखरा, पोखरा पारो चाँही चार्टर्ड उडान गर्नेगरी उसले अनुमति पाइसकेको छ । यो मिति भनेको सेप्टेम्बर २८, अक्टोबर २, अक्टोबर ६ र अक्टोबर १० मा गर्नेगरि यसले चाहीँ अनुमति पाएको छ ।’
महानिर्देशक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका विदेशी वायु कम्पनीले पनि तयारी गरेको जानकारी दिए । यद्यपि यसबारेमा भने निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायीहरुले पहल कदमी लिनुपर्ने उनले बताए । एयरलाइन्स, एयरपोर्ट बिजनेस एउटा मात्रै सरकारको पहलले सम्भव नहुने उल्लेख गर्दै उनले यहाँका स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिने बताए ।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्मको उडान गर्ने, त्यस्तै मलेसिया, बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका वायु कम्पनीहरु भन्नाले विदेशी वायु कम्पनीलहरुले तयारी गरिरहेको अवस्था छ । यद्यपि यो के भने निर्णय प्रक्रियामा रहेको छ । यसमा चाहीँ यहाँका स्थानिय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायीहरुले चाहीँ पहल कदमी लिनुपर्ने हुन्छ । किनभने यो एयरलाइन्स विजनेस, एयरपोर्ट विजनेस भनेको एउटा मात्रै सरकारको पहलले सम्भव नहुने विषय भएको हुनाले यहाँका स्थानिय पर्यटन व्यवसायी सबै मिलेर चाहीँ हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।’
महानिर्देशक निरौलाकाअनुसार पोखरा नयाँ विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक हवाई उडानहरु भइरहेका छन् । आन्तरिकतर्फ बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित रुपमा उडान गरिरहेको उनले जानकारी दिए । हाल अफसिजनमा पनि दिनमा २ हजार भन्दा बढी यात्रुहरुले आवगमन गरिरहेको उनले बताए । सेप्टेम्वर १५ देखि भने पर्यटन सिजन लाग्ने र त्यस बेलामा भने दैनिक ५० भन्दा बढी उडान हुने उनको भनाइ छ । करिव ४ हजार यात्रुले आवतजावतको सेवा लिने उनले जानकारी दिए ।
विगतको तथ्याङ्कअनुसार पनि ४ हजारको हाराहारीमा पिक सिजनमा र अफसिजनमा २ हजार भन्दा बढी यात्रुहरुले सेवा लिएको उनले बताए । पोखराको पुरानो विमानस्थलबाट भने हाल समिट एयरले पोखराबाट जोमसोमको उडान ुिरु गरेको उनले जानकारी दिए । पुरानो विमानस्थलबाट हेलिकप्टर सेवा नियमित रुपमा भइरहेको उनको भनाइ छ ।