२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीपीको योगदानको चर्चासहित वृक्षारोपण

ADV
राजकुमार के.सी.
२०८१ साउन ५ गते २२:००
वीपीको योगदानको चर्चासहित वृक्षारोपण

मकवानपुर : ४२औं वीपी स्मृति दिवसको अवसरमा वीपी कोइरालाको योगदानको चर्चासहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मकवानपुरको हेटौंडामा वीपी विचार समाज मकवानपुरले विविध कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपलिका वडा नं. ११ मा रहेको वीपी वाटिकामा सरसफाइसहित वृक्षारोपण गरेको हो ।

समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति एवं बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अर्यालले नेपालको राजनीतिमा वीपी कोइरालाको योगदानको बारेमा चर्चा गरेका थिए ।

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

वि.सं २०१७ पुस १ गते तत्कालिन शाही नेपाली सेनाको शक्तिको भरमा राजाद्वारा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि उनिहरुलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो । 

उनले राजनीतिसँगै नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । 

कार्यक्रमा कांग्रेस महासमिति सदस्य राधा कोइराला, बागमती प्रदेश सदस्य प्रदिप कोइराला, नेपाली कांग्रेस हेटौँडा ११ का सभापति दिपक उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । शनिबार नै वीपी वाटिकामा हर्रो, बर्रो, जामुन, अमला, राजबृक्ष, पारिजात, सुपारी लगायत विभिन्न जातका रुखविरुवा रोपिएको वीपी समाजका सचिव हरिप्रसाद पौडेलले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise