२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सार्वजनिक ऋणको तनाव : ऋण लिँदासमेत पुग्दैन साँवा–ब्याज तिर्न

shivam cement
२०८२ असोज ९ गते ०६:३०
Shares
सार्वजनिक ऋणको तनाव : ऋण लिँदासमेत पुग्दैन साँवा–ब्याज तिर्न

काठमाडौं : पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । सार्वजनिक ऋणको सही सदुपयोग हुन नसक्दा हरेक वर्ष नेपाल ऋणको ट्र्यापमा पर्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ मा ५ खर्ब ४० अर्ब रहेको सार्वजनिक ऋण २०८२/८३ को भदौसम्म आउँदा २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड छ भने बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड छ । 

सार्वजनिक ऋण बढ्दै जाँदा साँवा–ब्याज भुक्तानी बढिरहेको छ । अहिले साँवा–ब्याज तिर्न ऋण लिएरसमेत पुगिरहेको छैन । २०७१/७२ मा कुल गार्हस्थ उत्पादनको २२ दशमलव २८ प्रतिशत रहेको सार्वजनिक ऋण २०८२/८३ को भदौसम्म ४४ दशमलव ९२ प्रतिशत पुगेको छ । १० वर्षमा दोब्बरले बढेको हो । अर्थशास्त्री डा. रघुवीर विष्ट सार्वजनिक ऋण बढ्दै जाँदा त्यसको असर विकास निर्माणमा देखिएको बताउँछन् । उनले भने, ‘सार्वजनिक ऋण जसरी बढिरहेको छ, त्यसले नेपाललाई दीर्घकालमै असर गर्ने देखिन्छ । यसको सही सदुपयोग नहुँदा ऋणको भारले हामीलाई आगामी दिन अझै बोझ दिन्छ ।’

सार्वजनिक ऋण बढ्दै जाँदा अहिले ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिएको रकमले समेत पुग्न छोडेको छ । पछिल्लो परिस्थिति हेर्दा वार्षिक रूपमा जति ऋण लिइन्छ त्यति नै सरकारले साँवा–ब्याज तिर्न खर्च गर्ने गरेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा ६९ अर्ब ३२ करोड सरकारी ऋण थपिएको छ । तर सरकारले  दुई महिनामा साँवा–ब्याज तिर्न ७८ अर्ब ६७ करोड खर्च गरेको छ । साँवा–ब्याज तिर्न दुई महिनामा ९ अर्ब ३५ करोड  राजस्वबाट थप्नुपरेको छ । अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण दुई महिनामा ६९ अर्ब ३२ करोड बढेर सार्वजनिक ऋण दायित्व २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको हो । जुन कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ९२ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा भदौ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव २८ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ७२ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण लिने सरकारले लक्ष्य राखिएकोमा भाद्र मसान्तसम्ममा ७९ अर्ब १५ करोड ऋण लिएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १३ दशमलव २९ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण १९ दशमलव ३४ प्रतिशत र बाह्य ऋण ३ दशमलव ९२ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋणको हिस्सा ८८ दशमलव ४३  र बाह्य ऋणको हिस्सा र ११ दशमलव ५७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण तिर्न ४ खर्ब ११ अर्व १ करोड बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्म ७८ अर्ब ६७ करोड भुक्तानी भएको छ । जुन वार्षिक बजेट विनियोजनको आधारमा १९ दशमलव १४ प्रतिशत हो । 

ताजा खबर

सम्बन्धित खबर