काठमाडौँ : अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ ।
पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाइ गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ ।
“गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनी घाइते भएका थिए । उनीहरूलाई अस्पताल लगिएको उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफूले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए । अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुखद’ भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताएका छन् ।
उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको बताए ।
राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण’ को संज्ञा दिएका छन् । अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ ।