काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।
मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्नेमा ७० रुपैयाँ दिइएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताए ।
गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उनले जानकारी दिए । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनले बताए । किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकाले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उनले जानकारी दिए ।
उखु किसानको अनुदान भुक्तानीका लागि थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उनको भनाइ छ । उनले दुग्ध विकास संस्थानले पनि ठुलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको उनले जानकारी दिए ।
दशैं अगाडि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए । उनले किसानले आफूलाई दुधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताए । संस्थानले ४ महिनाभित्रमा दुधको सबै रकम भुक्तानी गर्ने उनको भनाइ छ ।
मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्नेलगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।