काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् । बिहीबार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताए । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गरे । जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।
मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको उनले जिकिर गरे । अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेनजीहरूको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार, बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने उनले बताए ।
अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरूलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन्स मात्रै वितरण गरिरहेको उनले बताए ।
अध्यक्ष सिंहले कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरू साना प्याकेजहरू बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरूलाई सहभागिता जनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन सके निर्माणको गति अघि बढ्नसक्ने जिकिर गरे ।
सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीहरूले ६ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको उनले स्पष्ट पारे । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उनको भनाइ थियो ।