काठमाडौंः जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारहरूलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ ।
सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो ।
अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत अर्थात् एक लाख ८७ हजारले वृद्धि भएको हो । हाल जापानको कुल जनसङ्ख्याको तीन दशमलव २१ प्रतिशत हिस्सा विदेशी बासिन्दाहरूले ओगटेका छन्, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।
आवासीय स्थितिको आधारमा हेर्दा स्थायी बासिन्दाहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतले बढ्दै नौ लाख ३२ हजार ९० पुगेको छ, जसले सबैभन्दा ठूलो समूह प्रतिनिधित्व गर्छ । त्यसपछि दोभाषे र अन्य पेशागत कामदारहरू समेत समावेश इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञहरूको भिसा कोटीमा रहेका व्यक्तिहरूको सङ्ख्या नौ दशमलव चार प्रतिशतले बढेर चार लाख ५८ हजार १०९ पुगेको छ ।
अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाहरूको सङ्ख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ ।
यसै अवधिमा सन् २०२५ को पहिलो अर्धवार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकहरूको सङ्ख्या समेत तीव्र रूपमा बढ्दै दुई करोड १३ लाख मिलियन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । एजेन्सीको अनुमानअनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीहरूको कुल सङ्ख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ ।