
काठमाडौं : वैदेशिक रोजगारमा गएका श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स नेपालमा पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ लाई संशोधन गर्दै सो रेमिट्यान्स पठाउन पाइने सीमा बढाएको हो ।
अहिलेसम्म यस्तो रकम दैनिक रूपमा बढीमा २० लाख रुपैयाँसम्म मात्र पठाउन पाइने व्यवस्था रहेको थियो ।
‘नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुनेगरी विदेशी (नागरिक वा फर्म/कम्पनी/संस्था)बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसिरीको खातामा जम्मा गर्नेगरी २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक)को विप्रेषण रकम ल्याउन सकिनेछ,’ संशोधित एकीकृत परिपत्रमा भनिएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा नयाँ संशोधनमार्फत दैनिक आयात गर्न पाइने सुनको कोटा पनि बढाएको छ । अहिलेसम्म दैनिक रूपमा २० किलोग्राम सुन आयात गर्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई संशोधन गर्दै २५ किलोग्राम पुर्याइएको छ ।