
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रंगशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एनपिएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रंगशाला परिसरमा खटिएको बताए ।
त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीहरूमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ ।
‘यसपटक एकैतर्फ तीनवटासम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,’ उनले भने ।
रंगशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ । खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरू गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पुर्याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ ।
एनपिएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरू र कुकुरसमेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए । रंगशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरू हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ ।
खेलाडीको निवास र रंशालासम्म उनीहरूको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए ।