
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स लयमा फर्किएको छ । उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भयो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ३६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए ।
इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । ब्रान्डन म्याकमुलेनले २२ रन बनाउँदा सेफ जेबले १५ रन बनाए । पोखराका लागि धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १-१ विकेट हात पारे ।