
उदयपुर : उदयपुरको गाईघाटमा तेस्रो प्रदेश महोत्सवको तयारी सुरु भएको छ । जिल्लाको सदरमुकाम तथा त्रियुगा नगरपालिका अन्तर्गत गाईघाटमा आगामी मंसिर १७ गते देखि २७ गतेसम्म ‘तेस्रो प्रदेश महोत्सव–२०८३’ सन्चालन हुने भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका त्रियुगा नदीकिनारमा महोत्सव सञ्चालन गर्न लागिएको हो ।
‘भाषा, कला र संस्कृतिको उत्थान, बढाऔँ उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष नवीन बस्नेतले बताए ।
महोत्सवबारे जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले महोत्सवमा अनुमानित एक लाख ५० हजार दर्शक सहभागी गराउने र साढे दुई करोड कारोबार गर्ने उद्देश्य रहेको बताए । महोत्सवमा स्थानीय तथा प्रदेशस्तरका उत्पादन, उद्योग, व्यापार, कृषि, पर्यटन, हस्तकला र सेवासँग सम्बन्धित करिब एक सय ५० वटा स्टल रहनेछन् । संघले स्थानीय उत्पादनको प्रचारप्रसार, बजारीकरण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्नुका साथै उद्योगी, व्यवसायी, कृषक, उद्यमी, पर्यटन व्यवसायी र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलताको विकास, व्यापारिक गतिविधिको विस्तार र पर्यटन विकासको माध्यम बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।
‘महोत्सवमा स्थानीय तथा प्रदेशस्तरका मौलिक कला, संस्कृति, परम्परा र खानपानको प्रदर्शन गरिनेछ। साथै, उदयपुरका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्न र्याफ्टिङ, प्याराग्लाइडिङ र साइकलिङलगायत साहसिक पर्यटन गतिविधिको प्रवर्धनमा जोड दिइनेछ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश महोत्सवको प्रवद्र्धकका रूपमा रहनेछन् । त्रियुगा नगरपालिका, जिल्ला समन्वय समिति उदयपुर तथा कोशी प्रदेशका सम्बन्धित मन्त्रालयलगायत निकायसँग सहकार्य भएको आयोजकको भनाई छ ।