
काठमाडौं : सरकारले जेनजी आन्दोलनका दुई हजार चार सय २९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले नर्वेबाट करिब ५ मिलियन डलर र स्विट्जरल्याण्डबाट करिब २.१ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
यसबाहेक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनःसंरचना अध्ययनका लागि प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ ।
माथिल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि पदयात्रा अनुमति शुल्क प्रतिदिन ५० डलर तोक्ने र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ ।