
काठमाडौं : काठमाडौं सोह्रखुट्टेमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको संख्या सन्तोषजनक रहेको पाइएको छ । धेरै सरकारी क्याम्पसहरूमा विद्यार्थीहरूको संख्या घटिरहेका बेला सरस्वती क्याम्पसमा भने विद्यार्थीहरूको संख्या उल्लेख रहेको क्याम्पसले जनाएको छ ।
क्याम्पसमा अहिले १४ वटा शैक्षिक कार्यक्रम र करिब ९ हजार विद्यार्थी रहेको क्याम्पस प्रमुख डा.ठाकुरप्रसाद वाग्लेले जानकारी दिए ।
एक महिना अगाडि क्याम्पस प्रमुखमा नियुक्त भएका वाग्लेले चाँडै बीए एलएलबी, एमपिएको रात्री कक्षा लगायतका नयाँ कार्यक्रमहरू थप्ने गृहकार्य सुरु गरिसकेको बताए । सरस्वती क्याम्पसमा हाल मानविकी संकायतर्फ पत्रकारिता, समाजशास्त्र लगायतका विषय र व्यवस्थापनतर्फ बीबीए, बीबीएम, बिएचएम लगायतका शैक्षिक कार्यक्रम लोकप्रियताका साथ सञ्चालन भइरहेका छन् ।
उनले क्याम्पस प्रमुखको कार्यकक्षमा उपभोग हुने गरेको चियाको खर्च कटौती गरेर मितव्ययिताको प्रयास सुरु गरेको उल्लेख गरे । ३० वर्ष यही क्याम्पसमा अध्यापन गरेपछि क्याम्पस प्रमुखको जिम्मेवारी पाएकाले क्याम्पसका समस्या र समाधानका उपायहरु बारे आफू जगजाहेर रहेको बताउँदै उनले विश्वविद्यालयमा आफूले पेश गरेको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
क्याम्पसमा सोमबार आयोजित क्याम्पसको साधारण सभामा उहाँले विगतमा हुँदै आएको पूर्वाग्रहबाट आफू भुक्तभोगी भएकाले आगामी दिनमा कसैमाथि अन्याय र पूर्वाग्रह नहुने अठोट व्यक्त गरे । विद्यार्थी संगठनहरूको अनावश्यक क्रियाकलापलाई न्यूनीकरण गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने, कुनै पनि निर्णय गर्दा विधि, विवेक र मूल्य–मान्यताहरूका आधारमा गर्ने उनको भनाइ छ ।

क्याम्पस प्रमुख वाग्लेले प्राध्यापक तथा विद्यार्थीहरूलाई अध्ययन अनुसन्धानका लागि उत्प्रेरित गर्ने कार्यक्रमहरू पनि ल्याउने जानकारी दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी सिनेटर कल्पना लुइटेलले क्याम्पसमा नागरिक बडापत्र राख्नुपर्ने, प्राध्यापक तथा विद्यार्थीहरूका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव दिएकी छन् ।
प्राध्यापक लेखनाथ ढकालले क्याम्पस प्रमुखले मात्रै केही गर्न नसक्ने भएकाले सबैले सहयोग गरेर सफल बनाउनुपर्ने कुरामा जोड दिए ।
प्रा.डा.सञ्जय आचार्यले क्याम्पसको इतिहासमा पहिलोपटक सर्वपक्षीय सहभागितामा खुल्ला रुपमा साधारण सभा हुनु आफैमा प्रशंसनीय भएको उल्लेख गरे । अंग्रेजी विभागका प्रमुख राजेन्द्र चापागाईंले क्याम्पस सफल हुनका लागि क्याम्पस प्रमुख सफल हुनुपर्ने भएकाले सबैले क्याम्पस प्रमुखलाई सफल बनाउनुपर्ने बताए । कानुनमै उल्लेख भएका वैचारिक संगठनहरूलाई वेवास्ता गर्न नमिल्ने उनको भनाइ थियो ।
त्यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष नरेन्द्रराज सुवेदी, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष रुद्रहरी ज्ञवाली, प्राध्यापकहरू केशवराज अधिकारी, केपी अर्याल, केपी पाण्डे, दमनबहादुर सिंह लगायतले क्याम्पसको आम्दानीको अनुपातमा प्राध्यापकहरूलाई थप पारिश्रमिक दिनुपर्ने, क्याम्पसको प्रवेशद्वारमै सोधपुछ कक्ष स्थापना गर्नुपर्ने, अनुशासन पालना गर्ने र गराउनुपर्ने लगायतका सुझाव राखेका थिए ।
विद्यार्थीहरूको तर्फबाट भने अनेरास्ववियुका लोकमणि जोशी, निश्चल राई, अनेरास्ववियु क्रान्तिकारीका राजेश बगाले, नेविसंघका मनिषराज पन्त, विद्यार्थी नेता रामबहादुर मल्ल, विवेक जोशी लगायतले क्याम्पसमा पुस्तकालयबाट पर्याप्त पुस्तकहरू पाउनुपर्ने, खानेपानीको व्यवस्था हुनुपर्ने शौचालय र सरसफाईमा सुधार गर्नुपर्ने, छात्रवृत्ति बढाउनुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख जमुना श्रेष्ठले सबैको सहयोगमा क्याम्पसमा सुधार गर्न सकिने बताएकी थिइन् भने अर्का सहायक क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले सबैको सुझावलाई आत्मसाथ गरिने प्रतिबद्धता जनाएका थिए ।