काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले आकर्षक तलब र सुविधासहित वैदेशिक रोजगारीको झुटो प्रलोभन दिएर भिजिट भिसामा यूएईलगायत खाडीका विभिन्न देशमा पुर्याएर अलपत्र पार्नेहरूलाई कारबाही गरेरै छोड्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई गएर अलपत्र परी दुःख झेलेर फर्किएका युवाहरूको समस्या सुनेपछि मन्त्री श्रेष्ठले उक्त आश्वासन दिएका हुन् । आकर्षक तलब, सुविधासहितको रोजगारीको प्रलोभन देखाई विदेश लगेर अलपत्र बनाउने जो केहीलाई कारबाही गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।
भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न मन्त्रालयका उपसचिव तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल प्रकृतिको कार्यदल गठन गरिसकेको भन्दै मन्त्री श्रेष्ठले भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न गहिरो अनुसन्धानको शुरूवात गरिएको समेत बताए । मन्त्री श्रेष्ठले उजुरी र प्राप्त सूचनाको आधारमा टिम तत्कालै एक्सनमा जाने पनि बताए ।
कार्यदलमा पर्यटन, परराष्ट्र, श्रम, प्रहरी, अध्यागमन विभाग र वैदेशिक रोजगार बोर्डका प्रतिनिधि सदस्य छन् । कार्यदलले भिजिट भिसा सम्बन्धमा मापदण्ड, अध्यागमन प्रणाली सुधार, कामदार रोजगारीमा जाँदा तथा फर्किँदा भोगेका समस्या समाधानका लागि १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिने बताइएको छ ।
आगामी आइतबारदेखि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी मन्त्रालयमा गुनासो सेन्टर स्थापना गर्न लागिएको जानकारी दिँदै मन्त्री श्रेष्ठले भने, ‘विदेशमा बसेर बेरोजगार युवाहरूलाई रोजगारीको प्रलोभनमा दुःख दिनेहरूलाई जहाँ गएपनि छोडिने छैन ।’
समस्या सुनाउन आएका युवाहरूले आफुहरूलाई विदेश पुर्याउने दलालहरूले मात्रै दुःख दिएको नभएर समस्यामा पर्दा संरक्षण नदिएको भन्दै नेपाली दूतावासका कर्मचारीहरूको पनि आलोचना गरे । एक पीडितले भने, ‘जतिसुकै अनुरोध गरे पनि यूएईमा रहेको नेपाली दूतावासका कर्मचारीले सहयोग गरेनन् । एजेन्टले दुबई एयरपोर्टमा पासपोर्ट र एक हजार डलरसमेत कब्जामा लियो । तर हाम्रो गुनासो दूतावासका कर्मचारीले सुनेनन् ।’
यसैबीच यूएईमा कार्यरत पत्रकार मेघराज सापकोटाले भिजिट भिसाको सेटिङमा वार्षिक १ अर्ब २० करोड रुपैयाँ घुस बापत कारोवार हुने आँकलन गरेका छन् । गत एक वर्षमा अनुमानित ८० हजार नेपालीहरु भिजिट भिसामा यूएई गएको आंकलन गर्दै पत्रकार सापकोटाले त्यसमा बढीमा २० हजार आफन्त र ट्राभल्समार्फत वास्तविक पर्यटक रहेको र बाँकीका ६० हजार नेपाली सेटिङ मिलाएर रोजगारीको उद्देश्यले गएको उल्लेख गरेका छन् ।
एक जना बराबर २० हजार रूपैयाँ एयरपोर्ट अध्यागमन कर्मचारीलाई घुस दिनुपर्ने र त्यसवापत एक वर्षमा १ अर्ब २० करोड रुपैयाँ कारोवार हुने भन्दै उनले यति ठूलो रकमको घुस कारोवार राजनैतिक संरक्षण बिना कर्मचारीको मिलेमतोमा मात्र सम्भव होला ? भनी प्रश्न समेत उठाएका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies