२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

शितगंगामा विकास योजनाको गुणस्तरीय अनुगमन तीव्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर ५ गते २१:२६
Shares
शितगंगामा विकास योजनाको गुणस्तरीय अनुगमन तीव्र

अर्घाखाँची : नेपालकै ठूलो नगरपालिका शितगंगा नगरपालिकामा निर्माण सम्पन्न भएका र निर्माण भइरहेको विकास योजनाको गुणस्तरीय अनुगमनलाई तीव्रता दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा र प्रशासकीय अधिकृत नुमलाल खनालले प्राविधिक इन्जिनियरसहित फिल्डमा पुगेर योजनाको नाप, नक्सा र गुणस्तर जाँच गर्ने कार्य थालेपछि गुणस्तरीय काम सुनिश्चित हुने भएको छ ।

शितगंगा नगरपालिकाका उपप्रमुख गीता भाटको संयोजकत्वमा रहेको अनुगमन समितिले सबै योजना अनुगमन गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने,‘अनुगमनका क्रममा कमसल काम पाइएमा भुक्तानी रोकिन्छ र दोश्रो पटक काम गर्न लगाइन्छ । स्थानीय सरकार र नागरिकको अपेक्षा अनुसार काम गुणस्तरीय होस् भन्ने हाम्रो उद्देश्य हो ।’

प्रशासकीय अधिकृत खनालले भने,‘स्थानीय तहमा हुने विकास निर्माणका काम गुणस्तरहीन हुने गुनासो बढेका बेला हामीले योजना अनुगमनलाई तीव्रता दिएका छौं । सबै वडामा योजना अनुगमन भइरहेको छ र कुनै पनि कमसल काम भए कारबाही प्रक्रिया अघि बढाइन्छ ।’

नगरपालिकाले अनुगमन टोलीले सिफारिस नगरेसम्म भुक्तानी नदिने नियम बनाएपछि विकट वडाहरूमा समेत गुणस्तरीय काम हुने भएको स्थानीय रेसम राज बन्जाडेले बताए । यस क्रममा शितगंगा नगरपालिका वडा नम्बर ८, ९, १० र ११ का दर्जनौं योजनाहरू प्राविधिकसहितको टोली र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा अनुगमन गरिएको छ । नगरपालिकाले गुणस्तरीय र दिगो विकास सुनिश्चित गर्ने उद्देश्यसहित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर