२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

खानेपानीको अध्यक्षमा निर्वाचित भुसालले भेटे जेन्जी आन्दोलनमा सहिद भएका सारुको परिवार

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर ७ गते १७:३६
Shares
खानेपानीको अध्यक्षमा निर्वाचित भुसालले भेटे जेन्जी आन्दोलनमा सहिद भएका सारुको परिवार

सन्धिखर्क : सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै विजयी भएका स्वतन्त्र उम्मेदवार बाबुराम भुसालले निर्वाचित भएको दोस्रो दिन भदौ २४ गतेको जेनजी आन्दोलनमा परी सहिद भएका सञ्जय माधव सारुको परिवारसँग भेट गरी आइतबार प्रमाणपत्र बुझेका छन् । भुसालले खानेपानी संस्थाका संस्थापक अध्यक्ष धर्मराज अधिकारीको घरमा पुगेर आशिर्वाद लिएपछि अहिले नियमित खानेपानीको काममा खटिएको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले सहयोग गरेका साझा उम्मेदवार युवराज खत्री (प्रेम) लाई पराजित गरी स्वतन्त्र नागरिक समाजबाट उम्मेदवार बनेका युवा व्यवसायी बाबुराम भुसाल विजयी भएका थिए । यसअघि भएको निर्वाचनमा भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत प्राप्त गरेका थिए । भुसालले खत्रीलाई १ सय २० मतले पराजित गरेका थिए । १ हजार ७ सय ३१ उपभोक्ताले मतदानमा सहभागिता जनाउन पाउने भए पनि सो समितिको मतदानमा १ हजार ६८ मत मात्रै खसेको थियो ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका भुसालले भदौ २४ को जेनजी प्रदर्शनपछि कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गरेका थिए । भुसालले स्वतन्त्र नागरिकको भूमिकामा रही निष्पक्ष समाजसेवा तथा सामाजिक काम गर्ने, व्यापार–बिजनेस गर्ने उद्देश्यले कांग्रेस पार्टी छोडेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

खानेपानी संस्थामा नौ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समितिका सबै पदमा स्वतन्त्र नागरिक र गठबन्धन दलहरूले सहयोग गरेका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए भने भुसालको समूहलाई चुनावमा रास्वपा र जेनेजी समूहले सहयोग गरेका थिए ।

सन्धिखर्क नगरस्तरीय चार दलका नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरे पनि अध्यक्षमा भुसाल विजयी भएपछि स्वतन्त्र नागरिक समाजका सदस्य उत्साहित बनेका छन् । स्वतन्त्र नागरिक युवाहरू गुरुदेव खनाल, ज्ञानेन्द्र घिमिरे, पुष्कर पौडेल, श्याम खनाल, बाबुराम बेल्वासे, प्रकाश श्रेष्ठ, अर्जुन भुसाल, सहयोगी बिसीलगायतका युवाहरू भुसाललाई जिताउनका लागि कम्मर कसेर लागेका थिए ।

निर्वाचन मण्डलले आइतबार संस्थाको कार्यालयमा अध्यक्ष भुसालसहितका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरेपछि भुसालले भने, “चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर मलाई जिताएका छन् । म यो गुन नागरिकलाई जारको पानी होइन, धारो खोलेर सिधै पिउन सकिने सफा पानी खुवाएर तिर्छु, मेरो प्रतिबद्धता यही हो ।”

भुसालले खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार अघि बढ्ने, सार्वजनिक स्थानहरूमा खानेपानीका धाराहरू जडान गर्ने, अहिलेको महँगो खानेपानी महसुल घटाउने, नागरिकमैत्री सेवा दिने, युवाहरू तथा स्थानीय नागरिकको सहभागितामा जनश्रमदान गर्ने, विभिन्न सरकारी निकायसँग सहकार्य गरी खानेपानीका लागि बजेट व्यवस्था गर्ने, २४ घण्टा धारामा पानी प्रवाह हुने व्यवस्था गर्ने, समितिका बैठकहरू लाइभ प्रसारण गर्ने, हिसाब–किताब तुरुन्त दुरुस्त राख्ने, खानेपानी सफा बनाउन दिन–रात पदाधिकारीलाई खटाउने, जीर्ण ट्यांकीहरू पुनर्निर्माण गर्ने, समस्या भएका स्थानमा प्राविधिक नापजाँच गरी विज्ञको सल्लाहमा पानी वितरण गर्ने तथा सरसफाइलाई निरन्तरता दिनेलगायतका काम गर्ने बताए ।

भुसाल समूहबाट वरिष्ठ उपाध्यक्ष बनेका सन्धिखर्कका स्थापित व्यवसायी वेदराज घिमिरे र कोषाध्यक्ष बनेकी सरिता महत क्षेत्रीले पनि जेनेजी आन्दोलनपछि क्रमशः एमाले र कांग्रेस छोडी स्वतन्त्र नागरिकमा आबद्ध बनेका थिए । उपाध्यक्षमा नेपाली कम्युनिस्ट पार्टीका भेषबहादुर क्षेत्री, सचिवमा जनमोर्चाका जीवलाल पौडेल, सह–सचिवमा जनमोर्चाकै कल्पना पोखरेल विजयी भएका थिए ।

सदस्यहरूमा गठबन्धनकै नवीन सुनार, मोतिलाल खनाल र कमला अर्याल विजयी भएका थिए । लेखा समिति संयोजकमा निवर्तमान एकीकृत समाजवादीकी नेतृ सुनिता बेल्वासे विजयी भएकी थिइन् भने लेखा समिति सदस्यमा ज्ञानबहादुर बिक र कमल ढकाल विजयी भएका थिए ।

निर्वाचित अध्यक्षसहित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अधिवक्ता टीका भुसाल तथा सदस्य देवेन्द्र बन्जाडे र चन्द्रमणि बन्जाडेले प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

संस्थाबाट सदरमुकाम सन्धिखर्क, चुत्रावेशी, इसारा टोल, झिल्केडाँडा, स्यालेबजारलगायत स्थानहरूमा पिउने पानी वितरण हुँदै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर