२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

अझै फर्किएनन् १२४ कैदीबन्दी

shivam cement
२०८२ मंसिर ८ गते २०:४७
Shares
अझै फर्किएनन् १२४ कैदीबन्दी

चितवन : ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।

कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् । 

कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अंगभंग मुद्दाका तीन/तीन जना, ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई/दुई जना फरार रहेका छन् । 

डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, अपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचविखन र अपहरण मुद्दामा एक/एक जना फरार रहेका छन् ।

हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन् । ढुंगानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन् । उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन् ।

फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाए । मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उनले बताए । 

कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए । सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुंगानाले जानकारी दिए । उनले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका छ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताए ।  

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर