२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

कार्यवाहक मेयर खातुनको राजीनामा माग्दै वडाध्यक्षहरुको विरोध प्रदर्शन

shivam cement
कृष्ण तिवारी
२०८२ मंसिर ८ गते २०:५७
Shares
कार्यवाहक मेयर खातुनको राजीनामा माग्दै वडाध्यक्षहरुको विरोध प्रदर्शन

रौतहट : रौतहटको फतुवा–बिजयपुर नगरपालिकाका वडाअध्यक्षहरूले कार्यवाहक मेयर अम्बेया खातुनको राजीनामा माग गर्दै सोमबार बिजयपुर बजारमा विरोध प्रदर्शन गरेका छन् । ‘करार कर्मचारीको व्यवस्थापन गर,’ ‘नगरलाई बन्धक बनाउन पाइदैन,’ ‘एकल निर्णय चल्दैन,’ ‘असफल कार्यवाहक मेयर राजीनामा दे’ जस्ता नारासहित गरिएको विरोध प्रदर्शन नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । 

विरोधसभामा बोल्दै वडा नम्बर २ का अध्यक्ष अनुरुद्द प्रसाद यादवले कार्यवाहक मेयर अम्बेया खातुन र उनका श्रीमान् शेख सेराजका कारण नगरपालिकाका अधिकांश वडा कार्यालयहरूमा तालाबन्दी हुन पुगेको र दैनिक प्रशासनिक कामकाज ठप्प भएको आरोप लगाए । 

उनका अनुसार वडा नं २ मा निर्माण भइसकेको कालोपत्रे सडकमा पुनः ५० लाख रुपैयाँ बराबरको माटो पुरी ग्राभेल देखाएर नक्कली बिल बनाएर भुक्तानी गर्न दवाब दिइएको थियो । प्रमुख प्रशासकीय अधिकृत भरत यादवले सो दाबी मान्न अस्वीकार गरेपछि उनको सरुवा गराई नयाँ प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई ल्याइएपछि विवाद झनै चर्किएको उनले बताए ।

No description available.

वडाअध्यक्षहरूले नगरपालिकामा करोडौंका अनियमितता भएको दाबीसमेत गरेका छन् । उनीहरूको आरोप अनुसार कार्यवाहक मेयर खातुनले लालबकैया नदीमा पर्ने ग्राभेल, ढुंगा, गिटी, बालुवाको निकासी जथाभावी गर्दै कमिसन असुल्ने गरेको उल्लेख छ ।

वडा नं १ का अध्यक्ष बिजय यादवले कार्यपालिका बैठक कहिल्यै नबोलाइने र बारम्बार आग्रह गर्दा पनि मेयर खातुन बैठक गर्न तयार नहुने आरोप लगाए । कार्यपालिकाको निर्णयबिनै विभिन्न योजना सञ्चालन र सम्पन्न गराउने गरेको पनि उनले बताए ।

वडा नं ६ का अध्यक्ष रामएकवाल यादवका अनुसार कार्यवाहक मेयर कार्यालयमा उपस्थित नहुने तथा काम लिएर आउने सर्वसाधारणलाई आफ्नो निजी निवासमै बोलाउने गर्दछन्, जसले सेवा–प्रवाह प्रभावित भएको छ ।

No description available.

त्यसैगरी वडा नं १० का अध्यक्ष मन्जय कुमार चौधरीले नगरपालिकामा कार्यरत ८२ जना करार कर्मचारीको तलब कार्यपालिका निर्णय अनुसार दिनुपर्ने भएपनि मेयर खातुनले आफ्नो श्रीमान् सेराजका कारण तलब रोकिदिएको दाबी गरे । तलब रोकिँदा कर्मचारी आन्दोलित बनेको र कार्यालय तालाबन्दी भएपछि सेवा–प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए ।

वडा नं ११ का अध्यक्ष ज्ञानेन्द्र चौधरीले विद्युत महसुल बुझाउन नगर परिषदबाट निर्णय भए पनि कार्यवाहक मेयरका श्रीमानले अनावश्यक रुपमा अवरोध गरेको आरोप लगाए ।
विरोध सभामा फतुवा–बिजयपुर नगरपालिका भरिका जनप्रतिनिधि, करार कर्मचारी, स्थानीयवासी र सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर