
अर्घाखाँची : अर्घाखाँचीको ९९ प्रतिशत घरधुरीमा विद्युत् पुर्याउने अभियान सफलतापूर्वक अघि बढाउँदै आएका नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख सरुवा भएका छन् । इन्जिनियर त्रिलोचन भट्टराई कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रमा सरुवा भएका हुन् । प्राधिकरणका अनुसार हालसम्म जिल्लाभरी ३८ हजार ३ सय ६ घरधुरीमा विद्युत् लाइन पुगेको छ । गत आर्थिक वर्षमा मात्रै ६ सय ९ नयाँ ग्राहक थपिएको वितरण केन्द्रले जनाएको छ ।
जिल्लाका ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिका–९ र ११ का करिब २ सय ५० घरधुरी बाहेक सबै ठाउँमा विद्युत् पुगेको प्रमुख इन्जिनियर भट्टराईले जानकारी दिए । बाँकी घरधुरीमा पनि चालु आर्थिक वर्षमै विद्युत् पुर्याउने लक्ष्य राखिएको छ ।
वितरण केन्द्रले गत आर्थिक वर्षमा ३ सय ७४ वटा स्मार्ट मिटर जडान गरेको छ, जसका कारण मिटर रिडिङ, क्षमता व्यवस्थापनलगायतका काम अनलाइनबाट सहज रूपमा हुन थालेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा कुल २ करोड ९५ लाख २५ हजार १ सय २५.९० यूनिट विद्युत् बिक्री गरी २४ करोड ४३ लाख ८३ हजार ३ सय १२ रुपैयाँ राजस्व संकलन गरिएको छ । विविध शीर्षकमा ६ लाख ४२ हजार ३ सय ६३ रुपैयाँ अतिरिक्त राजस्व पनि उठाएको केन्द्रले जनाएको छ ।
समयमै महशुल नतिर्ने १ सय ७८ ग्राहकको लाइन काटी २५ लाख ७० हजार ९ सय ७५ रुपैयाँ बक्यौता महसुल असूली गरिएको भट्टराईले बताए । अर्घाखाँची वितरण केन्द्र अन्तर्गतको डेडिकेटेड औद्योगिक ग्राहक शुभश्री अग्नि सिमेन्ट उद्योगबाट २०७४ फागुनदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड लाइन वापतको रकमका सात किस्ताबाट २४ लाख ७१ हजार रुपैयाँ असूली गरिएको छ । गुणस्तरीय विद्युत् सेवा र जनउत्तरदायी प्रणाली विकासका लागि भट्टराई र उनकी टोलीले रातदिन नभनी फिल्डमा खटिएकोले विद्युत आपूर्ति सहज बनेको उपभोक्ताहरू बताउँछन् ।
विद्युतीय दुर्घटना हुन सक्ने स्थानको पहिचान गरी ट्रान्सफर्मर घेराबार, भुइँमा रहेका ट्रान्सफर्मरलाई पोलमा सार्ने, किटक्याट फ्यूज व्यवस्थापनजस्ता काम अभियानकै रूपमा अघि बढाइएको छ । जोखिमपूर्ण नांगो तारहरूलाई एबिसी केबलले प्रतिस्थापन गर्ने कार्य पनि द्रुतगतिमा चलिरहेको छ ।
विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने सरकारी नीतिनुसार चार्जिङ स्टेसन जडान गर्न चाहनेलाई शीघ्र र सहज प्राविधिक सहयोग गर्ने व्यवस्था पनि केन्द्रले मिलाएको छ । यसतर्फका ग्राहकलाई वर्षभरि ५ लाख ३६ हजार ६ सय ४ यूनिट विद्युत् बिक्री गरी ४२ लाख १७ हजार ९ सय ९५ रुपैयाँ महसुल संकलन गरिएको छ ।