
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानुन ल्याउने प्रयास भइरहेको बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धि कानुन ल्याउन लागेको पनि स्पष्ट पारे ।
उनले सो सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरूसँग छलफल भइरहेको समेत जानकारी दिए । विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको मन्त्री पुनले बताए ।
त्यस अवसरमा मन्त्री पुनले सो विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले सो विश्वविद्यालयको अनुसन्धान केन्द्रहरूलाई देशको थिंक टयांकको रुपमा स्थापित गराउन चाहेको उनको भनाइ थियो ।