
काठमाडौँ : १४ वर्ष अघि खरिद सम्झौता गरिएको झापाको कनकाई पुलको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
जसको ठेक्का पप्पु-महादेव खिम्ती जेभीले ३४ करोड ९ लाखमा लिएको हो । योजना कार्यालयले दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखेर पठाइने जनाएको छ ।
यसअघि योजना कार्यालयले १५ दिनको समय दिएर ठेक्का किन नतोड्ने भन्दै गत असोज ३१ मा सार्वजनिक सूचना जारी गरेका थिए । उक्त पुलको अहिलेसम्मको निर्माण प्रगति ५६ प्रतिशत मात्रै रहेको छ । ७ सय २५ मिटर लामो पुल बनाउन २९ जेठ २०६८ मा सम्झौता गरिएकामा २९ जेठ २०७२ मा काम सकिसक्नु पर्ने थियो ।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।