
दोहा कतार : कतारमा रहेका गण्डकी प्रदेश बासीहरूको अभिभावक संस्था गण्डकी प्रदेश समन्वय परिषद् कतारको नवौं स्थापना दिवसको अवसरमा प्रदेशमा आबद्ध जिल्ला संस्थाहरुसँगको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न हुने बृहत् रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ ।
“रक्तदान, जीवनदान, जीवनदान महानदान” भन्ने मूल मन्त्रसहित नेपाली रक्तदाता संघ, कतारको समन्वयमा सम्पन्न हुन लागेको रक्तदानको तयारी पूरा भएको प्रदेशका अध्यक्ष नन्दलाल बिक (अजय)ले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
कतारमा रगतको आवश्यक परेका बिरामीले रगत अभावकै कारण ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले प्रदेशको स्थापना दिवस परोपकारी जीवन बचाउने महान् कार्यमा योगदान गर्दै मनाउन लागिएको महासचिव मनप्रसाद राना मगरले बताए । मगरले कतारमा रहेका सम्पूर्ण नेपालीहरू सहित रक्तदान गर्न इच्छुक सबैलाई अलसाद स्थित हमाद हस्पिटलको नेशनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे उपस्थित हुन आग्रह गरेका छन् ।
के छ रक्तदानको फाइदा ?
विभिन्न अध्ययन अनुसन्धानले जनाएअनुसार रक्तदान गरेमा मुटुरोगको जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ । त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ । सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।
१- रक्तदानको समयमा तीन सय मिलिलिटर रगत मात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टाभित्रमा गरिसक्छ ।
२- रक्तदानपश्चात् शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ ।
३ - शरीरमा रातो रक्तकोशिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरेलगत्तै शरीरमा स्फूर्ति बढ्छ ।
४- रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ ।
५- रगतहरूमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति युनिभर्सल डोनर हुन्, अर्थात् उनीहरू जो कसैलाई आफ्नो रगत दान दिन सक्छन् ।
६- एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।
रक्तदान गर्न चाहने रक्तदाताले ध्यान दिनुपर्ने कुराहरू :
१- रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्नेछ ।
२- रक्तदाता कतार प्रवेश गरेको ४ महिना पूरा भएको हुनुपर्नेछ
३- रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पूरा भएको हुनुपर्नेछ
४- रक्तदाता कम्तीमा ८ घण्टा सुतेको, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टाभित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।
५- रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी सम्म हुनुपर्नेछ ।
