
राँची : आर.के.डी.एफ.विश्वविद्यालयका कुलपति डा.अमित कुमार पाण्डेसँग नेपाली प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
दिल्लीमा आयोजित युथ फोर्स कार्यक्रममा प्रमुख अतिथि रहेका पाण्डेसँग नेपाली प्रतिनिधि मण्डलले छुट्टै भेट गरेको हो । सो क्रममा नेपाली विद्यार्थीहरूले सामना गरिरहेको समस्या, सेवा–सुविधाको अवस्था र सम्भावित समाधानका उपायहरूबारे कुलपति डा.पाण्डे र नेपाली प्रतिनिधि मण्डलबीच विस्तृत विचार–विमर्श भएको थियो ।
विशेषगरी नेपालका विद्यार्थीहरूले भारतमा बैंक खाता खोल्दा नयाँ कानुनअनुसार आधार कार्ड अनिवार्य भएको कारण समस्या भोगिरहेका छन् । तर, विश्वविद्यालयका कुलपति डा.पाण्डेको पहलपछि बैंकले नेपाली पासपोर्टको आधारमा पनि खाता खोल्न सकिने निर्देशन प्रदान गरेको जानकारी दिइएको छ ।

डा.पाण्डे पहिले देखिनै नेपालसँग सम्बन्धित विषयमा सक्रिय र जानकार रहेको बताइएको छ । केही वर्षअघि उनले इन्जिनियर बसीरुद्दिन अजादसँग मिलेर त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन र संयुक्त पठन–पाठन कार्यक्रम सञ्चालन गर्ने प्रयास गरेका थिए । तर, नेपालका त्रिभुवन विश्वविद्यालयबाट आवश्यक चासो नपाएको कारण उक्त कार्यक्रम अघि बढ्न सकेको थिएन ।
यसैबीच युथ फोर्सको कार्यक्रममा मध्यान्हकर्मी इसत्याक अहमदलाई सम्मान गरिएको छ । सो अवसरमा अहमद र इन्जिनियर मोहम्मद बसीरुद्दिन अजादलाई प्रमुख अतिथि डा.पाण्डेको हातबाट सम्मान गरिएको थियो । विश्वविद्यालयकातर्फबाट अहमद र मोहम्मदलाई दोसल्ला र सम्मान चिन्ह प्रदान गरिएको हो ।