
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेकी छन् । कार्कीले शुक्रबार मुख्यालयको निरीक्षण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी हुन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन, यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’
प्राधनमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।
उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सेनाले प्रहरीलाई समेत सघाउनुपर्ने बताइन् ।
सो क्रममा नेपाली सेनाले प्रधानमन्त्री कार्कीसमक्ष हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।