
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच शुक्रबार साँझ करिब एक घन्टा गृह मन्त्रालयमा वार्ता भएको छ । मंसिर ७ गते सर्वोच्च अदालतबाट रिहा भएपछि प्रसाईंको गृहमन्त्रीसँग यो पहिलो भेट हो ।
वार्तामा गृहमन्त्री अर्यालले कुनै पनि प्रदर्शन शान्तिपूर्ण ढंगबाट गर्नुपर्ने र हिंसात्मक गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । सरकारसँग सहकार्य गर्दै राजनीतिक रूपमा अगाडि बढ्न पनि मन्त्रीले प्रसाईं समूहलाई सुझाव दिएका थिए ।
प्रसाईंले पनि आफ्ना मागहरू राजनीतिक प्रक्रियामार्फत अघि बढाउने तयार रहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथि दमन हुन नहुने कुरा प्रसाईंको पक्षले उठाएको त्यही अवसरमा गृहमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताका सीमाबारे गाइडलाइन तयार गरिएको जानकारी दिएका थिए ।