२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

अर्घाखाँचीमा निर्वाचन तयारी : मतदातामा छैन उत्साह

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर १४ गते २०:३३
Shares
अर्घाखाँचीमा निर्वाचन तयारी : मतदातामा छैन उत्साह

अर्घाखाँची : राजनीतिक दलहरूले तीन दशकदेखि निर्वाचनमा ठुलाठुला सपना देखाएपनि मतदाताका साना सपना समेत पूरा हुन सकेका छैनन् । 

हरेक निर्वाचनमा उम्मेदवारले घरआँगनका बाटाघाटा निर्माण, लाखौं रोजगारी, देशलाई विकसित बनाउने आश्वासन दिएको भएपनि कुनै कुरा पूरा भएका छैनन् । पछिल्लो निर्वाचनमा मतदातालाई उनीहरूको आश्वासनले विश्वास दिलाउन कठिन छ भने गाउँका मतदाता चुनावको कुरा सुन्न समेत चाहँदैनन्, उनीहरूमा उत्साह छैन । अर्घाखाँची जिल्लाभर फागुन २१ को निर्वाचनमा भाग लिनका लागि पाँच हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लाभरबाट पाँच हजार भन्दा बढी मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार कार्यालयमै पुगेर एक हजार ८ सय ८५ जनाले नाम दर्ता गराएका छन् । महिलाको संख्या एक हजार १ सय ७६ र पुरुषको संख्या ७ सय भन्दा बढी रहेको छ । राष्ट्रिय परिचयपत्रमार्फत तीन हजार ५१ जनाले नाम दर्ता गराएका छन् । अर्घाखाँचीबाट ८ सय ७८ जनाले जिल्ला बाहिर, १ सय ७५ जनाले त्रुटी सच्याउन, एकजनाको नाम हटाउन र ३७ जनाले बाहिरी जिल्लामा दर्ताका लागि कार्यालयमा निवेदन दिएका छन् । अर्घाखाँचीमा मतदाताको संख्या १ लाख ६८ हजार ४ सय ४१ पुगेको छ । जसमा महिलाको संख्या ८३ हजार ३ सय ५७ र पुरुषको संख्या ८५ हजार ८४ रहेको छ ।

अर्घाखाँचीमा ६ वटा मतदान केन्द्र थप्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिकामा दुई र शितगंगा नगरपालिकामा चार गरी ६ वटा मतदान केन्द्र थप्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

पाणिनी गाउँपालिका वडानं. १ स्थित सरस्वती मावि आमडाँडा र वडानं. ३ को सरस्वती भवन राष्ट्रिय मावि हर्राबोटमा मतदान केन्द्र थप्न सिफारिस गरिएको छ । शितगंगा नगरपालिकाको वडानं. ११ मा रहेको चाबदिप मतदान स्थल हटाएर दुम्सी आधारभूत विद्यालय र धर्मदय मावि ढुंगेसेरामा मतदान केन्द्र थपिने निर्णय गरिएको छ । ताराज्योति आधारभूत विद्यालय दोबाटामा पनि मतदान केन्द्र थपिने निर्णय गरिएको छ । जिल्लामा एकमात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ र दुई सय दुई मतदान केन्द्र छन् । निर्वाचनका लागि जिल्लामा ९७ मतदानस्थल सिफारिस गरिएको सहायक प्रजिअ झबिलाल भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर