२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सहकारी पीडित भन्छन्- जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेन

shivam cement
२०८२ मंसिर १५ गते १४:०१
Shares
सहकारी पीडित भन्छन्- जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेन

काठमाडौं : सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारी पीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । उनले छोराछारी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको उनले बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ ।

उनले सरकारले पटकपटक वार्ता गरेपनि आफूहरूको माग पूरा नगरेको बताए । कतिपय सहकारी पीडितहरू डिप्रेसनको शिकार समेत बनेको उनको भनाइ छ ।

उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताए । उनले आफू पनि डिप्रेसनको शिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए । उनले जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरूको माग पूरा नगरेको बताए ।

प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं, सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

सम्बन्धित खबर