
काठमाडौं : पत्रकारिता क्षेत्रमा दशकौं वर्ष बिताइसकेका अग्रज पत्रकारहरूले पंचायती व्यवस्थादेखि अहिलेसम्मको अवस्थामा पत्रकारिताको क्षेत्रमा भएका अनेकौं उतार चढाको अनुभव आदान प्रदान गरेका छन् ।
सम्पादक समाज नेपालद्वारा गत शनिवार अर्थात् मंसिर १३ गते आयोजना गरिएको ‘ऊ वेलाका हाम्रा कुरा’ कार्यक्रममा पत्रकारितामा अग्रज पुस्ताका पत्रकारहरूले त्यस समयमा पत्रकारिता गर्दा अनुभूति, गरेका र भोगेका अनैकौ समस्याहरुका विषयमा खुलेर बहस गरेका थिए । गोबिन्द बियोगी पत्रकारिता अध्यन केन्द्र, सुइरेचौर, नुवाकोटमा भएको उक्त कार्यक्रममा करिब १०० जना पत्रकारहरूको उपस्थिति रहेको थियो ।
पत्रकारितामा बहसको विशेष बन्न नसकेको अग्रज पत्रकारहरूले पत्रकारिता गर्दाको त्यो संकटपूर्ण अवस्था र हालको अवस्थाबीचको भिन्नतामा अनुभव साझा गर्ने उद्देश्यसहित सम्पादक समाजले उहिलेका कुरामा राजनैतिक, सामाजिक तथा आर्थिक र सूचना प्रविधिको विषयमा अलग अलग बहस गराएको थियो ।

उबेलाको राजनैतिक अनुभव आदान प्रदान सेसनमा अग्रज पत्रकारहरू प्रा.पुरुषोत्तम दाहाल, तिर्थ कोइराला, देवप्रकाश त्रिपाठी, टंक पन्त, कुलचन्द्र वाग्ले, प्रा.डा.शान्तिकृष्ण अधिकारी, सुदर्शन आचार्य, युवराज गौतम, पुष्पराज प्रधान, पुरु रिसाल, हरिविनोद अधिकारीलगायतले आफ्ना धारण राखेका थिए भने सेसनलाई भिम थापा र अस्मिता श्रेष्ठले सहजीकरण गरेका थिए ।
त्यसैगरी पत्रकारिताले त्यो बेला सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असरका विषयमा चन्द्रमणी गौतम, विजय पौडेल, जुनारबाबु बस्नेत, डा. विकास सत्याल, राजु सिलवाल, यम तिवारी, पुस्कर भुर्तेल, बेनिबहादुर कार्की लगायतले आ आफ्ना अनुभव राखेका थिए । उक्त सेसनलाई दिनेश रेग्मी तथा कल्पना भट्टराईले सहजीकरण गरेका थिए ।
तत्कालीन अवस्थामा संचार क्षेत्रमा सूचना प्रविधिको अवस्था कस्तो थियो ? सूचना प्राप्त गर्न र संम्प्रेषन गर्न कति कठिनाई र बाधा व्यवधान भोग्नुपर्ने अवस्था थियो भन्नेबारेमा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, तारा बराल, नारायण उपाध्याय, विश्व बलामी, विटु के.सी., राजु सिलवाल, गोकर्ण अर्याल, खगेन्द्र खत्री, सुशिल
कोइराला, रामकृष्ण पौडेल, तुला अधिकारीलगायतले आ-आफ्ना अनुभव बाँडेका थिए । सम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको कार्यक्रमको संयोजन समाजका महासचिव श्याम डोटेलले गरेका थिए । ‘ऊ बेलाका हाम्रा कुरा’ कार्यक्रममा सम्पादक समाजका संरक्षक, अग्रज पत्रकारहरु इश्वरी वाग्ले, किरण वैद्य, नेपाल भुषण न्यौपाने, मदन कुमार श्रेष्ठ, नवराज चालिसे, माधव पौडेल, माधव दुलाललगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मध्यान्ह राष्ट्रिय दैनिकका तर्फबाट गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रका लागि प्रकाशक सीतादेवी श्रेष्ठ र प्रधान सम्पादक मदनकुमार श्रेष्ठद्वारा संयुक्तरूपमा समाजका अध्यक्ष पुरु रिलाललाई केही थान घडी र पत्रिका समर्पण गरिएको थियो ।
‘ऊ वेलाका हाम्रा कुरा’ का बहसलाई विभिन्न संचार माध्यामले फेसबुक पेजमार्फत प्रशारण गरेका थिए । तीनवटै विषयमा भएका छलफलका निचोडलाई समाजद्वारा प्रकाशन गरिने “सञ्चारदूत”मा प्रकाशन गरिने समाजका महासचिव डोटेलले जानकारी दिए ।