
राजविराज (सप्तरी) : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खंग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट बर्सेनि दुई/तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।
हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।