२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

आज विश्व माटो दिवस मनाइँदै

shivam cement
२०८२ मंसिर १९ गते ०९:०८
Shares
आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ : ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । मङ्सिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको पनि उनले सुनाए। यस वर्ष स्वस्थ माटोका लागि स्वस्थ सहर भन्ने नाराका साथ विश्व माटो दिवस मनाउन लागिएको हो ।

मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले (आज) शुक्रबार मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक सञ्जेलले बताए । यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाउने तयारी गरिएको छ ।

नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको उनले बताए । 

दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य भएको उनले बताए। डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृषि विभागका अधिकारीको भनाइ छ ।

पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको तथ्याङ्कले देखाएको छ । नेपालको अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च रहेको विभागले जनाएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ कम छ ।

नेपालमा प्रतिवर्ष करिब १.८ मिलीमिटर माथिल्लो सतहको माटो भूक्षयका कारण ह्रास हुने गरेको तथ्यांक छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च छ । फस्फोरस र पोटास पनि धेरै स्थानमा असन्तुलित अवस्थामा रहेको पाइएको छ ।

सुक्ष्म पोषकतत्वअन्तर्गत जिंक, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया कम देखिएको छ । बोरोन विशेषगरी पूर्वी नेपालमा न्यून रहेको विभागले जनाएको छ । यसैगरी सिल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम पाइएको छ । यस अवसरमा आज विभागमा औपचारिक रूपमा कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबर