२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

लघुकथा : खुसी बाँड्दा

ADV
२०८१ साउन १२ गते ०६:३५
लघुकथा : खुसी बाँड्दा

–धनराज गिरी

“अरे यार, मलाई पनि खबर गर्नु के, म पनि जान्छु ! आफू मात्र नजानुु त्यो मन्दिरमा । उनको नाम सम्झेपछि सम्पूर्ण तनाव दूर हुन्छ । ती पात्रको इमानदारीको साक्षी म पनि हुँ ।”, आफ्नो मित्रको योजनामा आफू पनि सहभागी हुन प्राचार्य वरदाननारायण लेखोपाध्याय भास्करले आफ्नो मनको कुरा भने प्रोफेसर अजेयनारायण विवेकीलाई । उनको कुरा मिल्यो, गुरु पूर्णिमाको दिन साइत जुर्यो, बसुन्धरालय जाने । र, गए उनीहरू । 

“आहा ! हजुरहरू दुई जना मलाई सारै मनपर्ने पात्रहरू !”, हात जोरेर नमस्कार गर्दै पूर्व प्राचार्य इमानेश्वर आशुतोष अधिकारी । 

“हजुरले हामीलाई नमस्कार गर्ने होइन नि, हामीहरू साना अनुज, पूर्णानुशासन पालना गरेर पढेका हामी !”, भास्करले भने ।

“मैले त पहिले नै सोचेको थिएँ यार, गुरुदेवले पहिल्यै नमस्कार गर्नुहुन्छ भनेर !”, प्रोफेसर विवेकीले भने ।

“यसलाई जे पनि पहिल्यै थाहा हुन्छ !”, भास्करले कटाक्ष गरे ।

“हे हे हे, यो मान्छेको टाउको र क्षमतानुसारको ठाउँ पाएन, देशले नचिनेको मान्छे, फेसबुकमा पूर्णकालीन, सन्तान धन्न रमाए, बा व्यस्त भनेर !”, अधिकारीले थपे । 

“चिया पिउने सर ?”, श्रीमती अधिकारीले भनिन् । 

“नो नो नो दिदी, खुवाउन बन्द !”, प्रोफेसर बोले । 

तस्वीर लिए । गफ भयो । अर्का रविनन्दन वामनगरे जोडिन आए, गौरीपुरबाट । 

“हजुरहरू अति इमानदार भएर दुःख पाउनुभयो !”, श्रीमती अधिकारी बोलिन् ।

“होइन दिदी होइन !”, प्रोफेसरले जवाफ फर्काए । 

“किन होइन ?”, बहुरानी रविन्द्रकान्ता रियाले भनिन् । 

“हेर छोरी, यो दुनियाँमा कोही पनि इमानदार छैन, हुन्न । तर इमानदार देखिन विवश हुन्छ । अभिनय गर्छ इमानदारीको । अभिनयलाई दुनियाँले पत्याइदिन्छ । हामी पनि उही हो । वास्तवमा दिदी, हामी बेइमान हुने हिम्मत नभएर जबर्जस्ती इमानदार कहलियौं । खराब हुने हिम्मत नभएर असल बनियो । असलको अभ्यासले रियल असल बनायो । अब हामीले बेइमानी गरे पनि यो समाजले पत्याउन्न । हामीलाई, हामीले होइन दिदी, होइन दिदी होइन, होइन छोरी रिया, यो समाजले असल र इमानदार बनायो । समाजलाई सलाम ! हामी त पानी, समाजले जुन रङ्ग हालियो त्यही बनियो, हेड मास्टर बनायो, बनियो ।”, प्रोफेसर बोले । 

“यो मान्छेलाई कति कुरा आएको ? होइन भन्न पनि नमिल्ने ! बसन्त बस्नेतको साथी, लेखक, सकिन्न यो मान्छेसित !”, अधिकारी बोले । 

“त्यसै मेरो मित्र हुन्छ त यो जोगी !”, भास्करले थपे । 

तस्वीर लिएर जोडी फर्कियो, अधिकारी परिवारको अनुहार उज्यालो भयो । “आजको यात्रा पूर्ण सफल, भानु जयन्तीको दिनजस्तै, मायालु पनि !”, भास्कर खुसीपूर्वक देखिए ।

“मित्रमिलन, आत्मीय भएमा, आयु बढ्छ यार !”, प्रोफेसर बोले । 

“हो त ! कुरा मिल्छ क्या तेरो र मेरो !”, खुसी हुँदै भास्करले जवाफ फर्काए ।

ADVADV

सम्बन्धित खबर

Advertise