
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेका छन् ।
आइतबार नै पद तथा गोपनयताको शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए ।
उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताए ।
मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए ।
उनले मधेश प्रदेशमा अब स्थायित्व कायम हुने बताए ।