
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यलाई नियुक्ति पत्र प्रदान गरेपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सोहीअनुसार अगाडि बढ्न आग्रह गरे ।
उनले समग्र सञ्चार क्षेत्रको सुधारका लागि संविधान र कानुनको परिधिभित्र रहेर काउन्सिलले प्रभावकारी काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न लागिपरेको पनि बताए ।
उनले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा बढाउनुपर्ने अवस्थामा जिम्मेवार सरोकारवालाबाटै भ्रामक सूचना र समाचारहरु सम्प्रेषण भइरहेको भन्दै आपत्ति पनि जनाए । साइबर आक्रमण नै सरकारका लागि मुख्य चुनौती रहेको मन्त्री खरेलको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउँदै मुलुकमा सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारमाध्यमलाई जिम्मेवार र जनउत्तरदायी बनाउने आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए ।
काउन्सिलमा रहँदा अधिकारको प्रयोग नभई कर्तव्य निर्वाह गर्ने समेत उनले बताए ।