
रामेछाप : रामेछापको सुनापति गाउँपालिका वडा नं. ३, ४ र ५ को संगम स्थल सुनापति डाँडामा निर्माण गरिएको ३५ फिट अग्लो शिवमूर्तिको उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव मुकुन्दप्रसाद निरौलाले मूर्ति उद्घाटन गरेका हुन् । धार्मिक आस्था, सांस्कृतिक पहिचान र स्थानीय पर्यटन विकासलाई लक्ष्य राखेर स्थापना गरिएको यस मूर्ति उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सचिव निरौलाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन पूर्वाधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । उनले सुनापतिमा रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी प्राथमिकता निर्धारण गर्न समेत सुझाव दिए । मन्त्रालयमा सीमित स्रोत भएपनि प्राथमिकताका आधारमा पालिकाको पर्यटन प्रवर्धनमा सहयोग गर्ने वचन दिँदै उनले अधुरा पूर्वाधार निर्माणका लागि बजेट थपका लागि पहल गर्ने स्पष्ट पारे ।
सचिव निरौलाले तीनै तहको सरकार मिलेर काम गर्नु आवश्यक भएको भन्दै सुनापतिलाई पर्यटनको केन्द्र बनाउनेमा जनप्रतिनिधिलाई सुझाव दिए ।
सुनापति गाउँपालिकाका अध्यक्ष सानुकान्छा तामाङले पालिकामा रहेका पर्यटकीय सम्भावनासँग सम्बन्धित धेरै योजना अपूरा रहेको बताए । अध्यक्ष तामाङले अपूरा योजना सम्पन्न गर्न केन्द्र र प्रदेश सरकारसँग बारम्बार अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।
अध्यक्ष तामाङले पालिकामा उत्पादित वस्तु गुणस्तरीय सडकको अभावका कारण समयमा बजारसम्म पुर्याउन नसक्दा वस्तु कुहिने अवस्था आएको बताए । उनले पर्यटन प्रवर्धनमा सहयोग गर्न पर्यटन सचिवमार्फत स्थानीय जनप्रतिनिधिका कुरा पनि सुन्न आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले पालिकालाई पर्यटनसँग जोड्न आग्रह गरे । पर्यटकको बसाइँ लम्ब्याउन भौतिक पूर्वाधारमा ध्यान दिनुपर्नेमा जोड दिँदै वरिष्ठ अधिकृत थपलियाले पर्यटन प्रवर्धनमा बोर्डले स्थानीय निकायसँग सहकार्य गर्दै अघि बढ्ने पनि स्पष्ट पारे ।
डेनमार्कका लागि नेपालका अवैतानिक राजदूत हरि धरेलले पालिकाका पर्यटकीय क्षेत्रमा प्लाष्टिक निषेध गर्न सुझाव दिए । उनले परम्परागत शैलीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिए ।
स्थानीय कार्यसमिति सदस्य अमिर गुरुङले सुनापति क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने बताए । यस क्षेत्रमा रहेका लहरे माने, शिवको मूर्ति र निर्माणाधीन मच्छिन्द्र नाथ मन्दिरले पर्यटकको आकर्षण बढाउने बताए । गुरुङले शिवमूर्ति धार्मिक सहिष्णुता र सांस्कृतिक समृद्धिको प्रतीक भएको बताए ।
पर्यटन व्यवसायी तथा अल्टिच्युड एयरका सञ्चालक राम सापकोटाले सुनापति क्षेत्रमा ट्रेकिङ ट्रायल सञ्चालन हुने बताए । सापकोटाले पर्यटकको लागि स्तरीय होटल निर्माण गराउन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल सरकारका सह–सचिव रुद्रसिंह तामाङ र असमान तामाङ, नेपाल ट्राभल तथा टुर सोसाइटीका अध्यक्ष मानबहादुर शाही, ऋइब्एका अध्यक्ष देवी प्रसाद पन्त, भिटोफ कार्यसमिति सदस्य डेभिड चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले गरेका थिए ।
उद्धाटनसँगै सुनापति गाउँपालिका धार्मिक पर्यटन प्रवर्धनको नयाँ आयाममा प्रवेश गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।