२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नागढुंगा-मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

shivam cement
२०८२ मंसिर २२ गते ११:५०
Shares
नागढुंगा-मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

मलेखु : नागढुंगा-मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुंगा-मुग्लिन सडक आयोजनाले यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो ।

सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुंगाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।

त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाडौं जिल्ला भित्रपर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ । एकै पटकमा धेरै गह्रौं उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए ।

यो समयमा नागढुंगा-पिपलामोड खण्डका लागि काठमाडौंतर्फबाट आउने सवारीलाई नागढुंगा चेकपोस्टमा र गल्छीबाट काठमाडौंतर्फ जाने सवारीलाई खानीखोला र जुँगेखोलामा रोकिनेछ । गल्छी-गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिने सडक आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला-भिमढुंगा-रामकोट-धार्केको सडक प्रयोग गर्न सक्नेछन् । सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सक्नेछन् । एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछ ।

सम्बन्धित खबर